१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला, प्रधानमन्त्रीले के भने ? (भिडियो)


0
Shares

प्रतीक्षा खनाल/उत्तम मानन्धर (इमेज)

काठमाडौं, असोज २९ । कुनै समय दरबार र श्रीपेच शक्तिका प्रतीक थिए । श्रीपेचले नेपालीलाई एकताबद्ध बनाएको विश्वास लिइन्थ्यो ।

समय फेरियो । युग फेरियो । शाहवंशीय राजतन्त्र ढलेसँगै श्रीपेचको शक्ति पनि हरायो । तर, आममानिसमा यसको आकर्षण भने हराएन ।

शाहवंशीय राजाहरुको नासो श्रीपेच अब अवलोकनका लागि सर्वसाधारणलाई पनि खुला गरिएको छ ।

शाहवंशीय श्रीपेच र राजदन्डसहित १२ ओटा महत्वपूर्ण सामग्रीहरु सोमबारदेखि सर्वसाधारणको अवलोकनका लागि नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको छ ।

श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

बहुमूल्य श्रीपेच सबैका लागि कौतुहलताको विषय रहिआएको थियो । अब भने नारायणहिटी संग्राहलयमा जाने सबैले श्रीपेच अवलोकन गर्न पाउनेछन् ।

त्यसो त श्रीपेच शाहवंशीय राजाहरुको शीरमा पहिल्यैदेखि सजिदै आएको थियो । तर, यो श्रीपेच भने राजा राजेन्द्रवीरविक्रम शाहको पालादेखि प्रयोगमा आएको श्रीपेचको निरन्तरता हो ।

यो श्रीपेचमा ७३० हीराका टुक्रा, दुई हजारभन्दा बढी मोती र अन्य मणिमाणिक्य जडित छन् ।

श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्की ‘बर्ड अफ प्याराडाइज’ नामक चराको पुच्छरबाट बनेको हो ।

विशेष सुरक्षाका साथ ‘बुलेटप्रुफ’ सिसाको सोकेसमा राखिएको श्रीपेचको साथमा राजदन्ड, रानीले लगाउने गरेको मुकुट, चमर, तरवारलगायतका सामग्री राखिएको छ ।

राजतन्त्रको प्रतीककारुपमा रहेको श्रीपेचलगायतका महत्वपूर्ण सामग्री सुरुमा ज्ञानेन्द्र शाहले सरकारलाई हस्तान्तरण गर्न अस्वीकार गर्दै आएका थिए ।

गणतन्त्र घोषण भएपछि अन्ततः पूर्वराजा शाहले २०६५ जेठ २९ गते श्रीपेचलगायत राजसंस्थाका प्रतीक मानिने सामग्री सरकारलाई बुझाएका थिए ।

लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा सुरक्षित राखिएको थियो ।

सुरक्षाका कारणले सार्वजनिक नगरिएको श्रीपेचलाई राजतन्त्रको अन्त्य भएको एक दशकपछि सार्वजनिक गरिएको हो ।

श्रीपेच सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल एकीकरणमा शाहवंशीय राजाहरुले गरेको योगदानलाई स्मरण गरे ।

प्रधानमन्त्री ओलीले जनताले फालेको राजतन्त्रलाई नेपालीजत्तिको सम्मान राजतन्त्र हटेका संसारका कुनैपनि देशले नदिएको दाबीसमेत गरे ।

सार्वजनिक गरिएको श्रीपेचले आममानिससमा राजतन्त्रसँग जोडिएका कौतुहलतालाई केही हदसम्म पक्कै पनि मेट्नेछ । तर, यसको सुरक्षामा देखिएको चासोलाई भने सम्बोधन गर्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्