
नेपालगञ्ज । पश्चिम नेपालको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा रहेको बाँकेको प्रसिद्ध बागेश्वरी मन्दिरमा नवरात्रीका बेला भक्तजनको भीड लागेको छ ।
नवरात्रीका बेला बागेश्वरी मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ ।
बागेश्वरी मन्दिर पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । यो मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ ।
यो स्थानमा सर्वप्रथम किन्नर गणहरूले पूजा–आराधना गरेको मानिन्छ ।
बागेश्वरी मन्दिरको स्थापना विषयमा फरक–फरक जनश्रुति र किम्बदन्ती रहेका छन् । १४११ सालअघिनै बागेश्वरीको उत्पत्ति भएको किम्बदन्ती भेटिएको छ ।
शिश्यनाथ बाबाले बनाएको भनिएको मन्दिरलाई तत्काल ईष्ट ईन्डियाअन्तर्गत रहेको बाँके जिल्लामा बलरामपुर राज्यका महाराज दिक बिजय सिंहले पिठहरुको दर्शन गर्ने क्रममा बागेश्वरी मन्दिर पुगी माटोको मन्दिरलाई जिर्णोद्धार गरि सुर्खीचुनाको छानो हालेका थिए ।
सन् १२६७ मा सिंहले जिर्णोद्धार गरेको मन्दिर त्यसयता श्री ३ मोहन समसेरले र त्यस यता विभिन्न ब्यवसायीले जिर्णोद्धार गर्दै आजको आधुनिक बागेश्वरी मन्दिर बनेको हो ।
मन्दिरको कौशीमा १०८ प्यालामा दियो जडान गरिएको छ भने मन्दिरको द्वारमा सिंहको मूर्ति स्थापना गरिएको छ । मन्दिरमा तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ ।
सुरुमा थारु पुजारीले पूजा गर्ने गरेकोमा राणाकालमा थारुहरुलाई हटाएर नाथहरुले पूजा गर्न सुरु गरेका थिए ।
हालका पुजारी चन्दननाथ र हरिहरनाथ राणाकालबाट मात्र नियुक्त भएका पुजारीका सन्तान हुन् ।
मन्दिरमा बडा दसैं र चैते दसैंमा हजारौको संख्यामा भक्तहरु पूजा गर्न आउने गर्दछन् ।
प्रमुख चाडहरुमा हजारौंको संख्यामा बली समेत चढ्ने गरेको छ । यसरी बागेश्वरी मन्दिर सयौं वर्षदेखि नेपालगन्जमा प्रसिद्ध छ ।
प्रतिक्रिया दिनुहोस्