Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


यमनका हुथीद्वारा साउदी अरबका विमानस्थल र ऊर्जा केन्द्रमा ड्रोन आक्रमण


650
Shares

काठमाडाैं ।
यमनको हुथी समूहले साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी चारवटा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । साउदी अरब र हुथी समूहबीच सीमापार आक्रमण जारी रहँदा क्षेत्रीय तनाव थप बढेको छ ।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले हुथी नियन्त्रित अल–मसिरा टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै आक्रमणबारे जानकारी दिनुभएको हो । उहाँकाअनुसार आक्रमणको निशानामा साउदी राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वी प्रान्तमा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल तथा साउदी ऊर्जा कम्पनी अरामकोका दुईवटा ऊर्जा केन्द्र रहेका थिए ।

सरियाले अरामकोको शेदगुम ग्यास केन्द्रमा प्रत्यक्ष प्रहार भएको र त्यसबाट ठूलो आगलागी भएको दाबी गर्नुभयो । त्यस्तै, पूर्वी प्रान्तस्थित अरामकोको तानाजिब केन्द्रलाई पनि लक्षित गरिएको उहाँले बताउनु भयो । यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि भएको जानकारी उपलब्ध छैन । यसैबीच, हुथी प्रवक्ताले दक्षिणी यमनी प्रान्त लहिजमा रहेका साउदी सैन्य जमघटलाई लक्षित गरी छवटा ब्यालिस्टिक क्षेप्यास्त्र र दुईवटा ड्रोन प्रहार गरिएको दाबी गर्नुभयो । उक्त आक्रमणमा दर्जनौँ मानिस हताहत भएको उहाँको भनाइ छ । हुथी समूहले साउदी युद्धक विमानलाई लक्षित गरी स्थानीय रूपमा निर्मित सतहबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रसमेत प्रयोग गरेको र त्यसपछि विमानहरू पछि हटेको दाबी गरेको छ । सरियाकाअनुसार पछिल्लो आक्रमण यमनका विभिन्न क्षेत्रमा साउदी हवाई आक्रमण तीव्र बनेपछि गरिएको हो ।

यमनमा सन् २०१४ को अन्त्यतिर हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि द्वन्द्व जारी छ । सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो । हाल उक्त सरकार एडेनबाट सञ्चालन हुँदै आएको छ ।