
गोरखा, असोज २८ । गोरखाको लिगलिगकोटमा सम्पन्न लिगलिगे दौडको उपाधि भारतीय सेनाका अनिश थापामगरले जितेका छन् ।
घलेहरु दौडेर राजा हुने इतिहासको स्मरणमा गोरखाको पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दुरीको दौड ५८ मिनेट २५ सेकेन्डमा पूरा गर्दै थापामगर पहिलो भएका हुन् । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित हुन सफल भए ।
उपाधि हात पारेसँगै उनले श्रीपेच, ६० हजार १ सय रुपैयाँ नगद पुरस्कार, ट्रफीसहित प्रमाणपत्र पाएका छन् ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले उपाधि विजेता थापामगरलाई श्रीपेच लगाइदिएर ट्रफी र प्रमाणपत्र प्रदान गरे । थापामगरले यसअघि पनि दुईपटक लिगलिगे दौडको उपाधि जितिसकेका छन् ।
यस्तै बाग्लुङ्गका तीर्थ पुनले ५८ मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरी दोस्रो र नेपाली सेनाका रामजी बस्नेतले ५९ मिनेट २१ सेकेण्डमा पूरा गरेर तेस्रो भए । दोस्रो हुनेले ३५ हजार एकसय र तेस्रो हुनेले २५ हजार एकसय रुपैयाँ नगद पुरस्कार पाए ।
यसपटकको लिगलिगे दौडमा ७७ जना धावक सहभागी थिए । स्थानीय लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिता आयोजना गरेको यो नवौं पटक हो ।
प्रतिक्रिया दिनुहोस्