
संयुक्तराज्य अमेरिका, असोज २७ । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ ।
खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्नसक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ ।
फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले ‘मेक्सिको बीच पूर्णरुपमा उजाड भएको’ बताए । बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो ।
‘यहाँ त बम पड्किएझैं भएको थियो’–स्कटले भने ।
करिब एक हजार मानिस अझै बसिरहेको उक्त ठाउँको स्थलगत भ्रमण गरेर फर्किएपछि उनले भने–‘यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको छ ।’
उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुरसमेत साथै लिएर खोजी गरिरहेका थिए ।
अमेरिकी सन्चारमाध्यमहरुले सहरमा एकजना वृद्धको मृत्यु भएको खबर प्रसारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो ।
संघीय आपत्कालीन व्यवस्थापन निकाय (फेमा)का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्नसक्ने बताए ।
‘मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो । तर, परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकाहरुमा खोजीकार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु हुनसक्ने खतरा छ’–उनले बताए ।
मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको र त्यसलाई २५० किमि प्रतिघन्टाको बेगिलो हावाले उडाएर सयौं फिट टाढा पुर्याएको वा धुलोपिठो पारेको पाइएको छ ।
लङले भने–‘आँधीको बितन्डाकाबारेमा बताउने त्यहाँ वरपर मानिससमेत भेटिएका छैनन् ।’
स्थानीय अधिकारीहरुकाअनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्यरुपमा घर छाड्न आदेश दिइएको थियो । तर, केही मानिसले अटेर गरेर घरमै बसेका थिए ।
फ्लोरिडाका सिनेटर मार्को रुबिओले भने–‘अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन् ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको बताए ।
‘मानिसलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्नेसमेत थाहा छैन’–ट्रम्पले ट्वीट गर्दै भने–‘म अर्को साताको सुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं । हामी तपाइँहरुकै साथमा छौं ।’
फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको ‘माइकल’ नामको आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ ।
पेन्टागनकाअनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ ।
यहाँ १०० हेलिकोप्टर र एक हजार ८०० पानीमा चल्ने उपकरण परिचालन गरिएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्