
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ ।
गुर्जा हिमालको बेसक्याम्पमा गएको हिमपहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । हिमपहिरोमा परेर अर्का एक जना बेपत्ता भएका छन् ।
काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरिया गुर्जा हिमाल आरोहण गर्न गएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका म्याग्दीका प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरले घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भइरहेको जानकारी दिएका छन् ।
आज बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बताइएको छ ।
डिएसपी मगरले पोखराबाट गएको टोलीले ८ जनाको शव देखिएको जानकारी दिएको बताए ।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्ज गाउँकै बासिन्दा थिए ।
तर उनीहरु सम्पर्कमा आउन ढिला गरेपछि स्थानीय खोजीका लागि हिजो बेसक्याम्प गएका थिए ।
त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शव फेला परेको देखेपछि उनीहरुले साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्