१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


बाग्लुङ कालिका मन्दिरः जहाँ सन्तान प्राप्तीका लागि भाकल गरिन्छ


13
Shares

-लक्ष्मी सापकोटा/ईमेज:

बाग्लुङ । बाग्लुङको प्रसिद्ध बाग्लुङ कालिका भगवती मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

वार्षिक ५० लाखको हारहारीमा दर्शनार्थी आउने यो मन्दिरमा दसैंका अवसरमा त अझ निकै घुइँचो हुने गरेको छ ।

नेपालका प्रमुख शक्तिपीठमध्येको बागलुङ कालिका भगवती मन्दिरमा यतिबेला दर्शनार्थीहरुको भीड देखिन्छ ।

धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्यमान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।

घटस्थापनाको दिनदेखि भक्तजनहरुको ओइरो लाग्न थालेकोले बागलुङ भगवती गुठीले, सरसफाइ र खानपिनलगायतको व्यवस्थपानका लागि तयारी गरिरहेको  समितिका अध्यक्ष राजु खड्का बताउँछन् ।

हरेक बर्ष दशैंको बेलामा मात्रै ६ लाख भक्तजन आउने गरेकोमा यो वर्ष ९ लाख पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै यहाँ वार्षिक सरदर ५० लाखसम्म दर्शनार्थी आउने समितिको तथ्यांक छ ।

विसं १५९१ मा पर्वतका राजा नारायण मल्लले पाल्पाकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले कालिका देवीलाई साथमा ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास छ ।

वडादशैं र चैतेदशैको बेलामा दैनिक हजारौं भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् ।

पूर्वको ढोका कहिले पनि खोलिदैन । यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको गुठीयार मध्येका पाका पत्रकार विदुर खड्का बताउँछन् ।

मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बार्षिक डेड करोड आम्दानी हुने गर्दछ जसबाट मन्दिरको व्यवस्थापनका लागि खर्च गरिन्छ ।

यस्ता धार्मिक सम्पदाको महत्वबारे प्रचारप्रसार गरे एकातिर धर्म संस्कृति संरक्षण र अर्कोतिर पर्यटन व्यवसाय पनि फस्टाउन सकिन्छ ।