१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा


0
Shares

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् ।

साउदी वाणिज्य दूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी टर्कीका अधिकारीहरुले गरेका हुन् ।

पत्रकार खसोगी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ ।

अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ ।

टर्कीका अधिकारीहरू आफूसँग रहेको अडिओ र भिडिओ रेकर्डिङले खसोगीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावास भित्र मारिदिएको भन्ने प्रमाणित गर्नेमा विश्वस्त देखिएका छन् ।

पत्रकार जमाल खसोगीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसँग रहेको बीबीसीले जनाएको छ ।

टर्कीको गुप्चतर निकायसँग ती पत्रकारको हत्याको घटनाको अभिलेखिकृत प्रमाण नै भएको स्रोतहरुले दाबी गरेको बीबीसीले जनाएको छ ।

साउदी सरकारका कडा आलोचक जमाल खसोगी, गत अक्टोबर २ तारिखमा साउदी वाणिज्यदूतावासमा प्रवेश गरेयता बेपत्ता छन् ।

यस्तो परिस्थितिका माझ पनि टर्कीले यो घटनाका सम्बन्धमा संयुक्त छानविन गर्ने साउदी प्रस्ताव स्वीकार गरेको हो ।

यसलाई अंकाराले रियादसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक व्यवस्थापन गर्ने प्रयासका गरेको संकेतका रुपमा लिइएको छ ।

साउदी अरेबियाले अझै पनि औपचारिक रुपमा आफू विरुद्धका सबै आरोपको खण्डन गरेको छ । उसले खशोगी दूतावासको भवनबाट बाहिरिएको दाबी गरेको छ ।(एजेन्सी)