-विराज रोस्यारा/ईमेज
कैलाली । दसैँको चहलपहल सुरु भइरहँदा रोजगारीका लागि भारतका विभिन्न शहर पुगेकाहरु पनि घर फर्किन थालेका छन् ।
पश्चिमी सीमा नाका गौरीफण्टा र गड्डाचौकी भएर अहिले घर फर्कनेहरुको घुँइचो नै लाग्न थालेको छ ।
सुदूरपश्चिम लगायत नेपालका विभिन्न स्थानबाट भारतका विभिन्न शहर पुगेकाहरु दशैँतिहारजस्ता चाडबाड मनाउन फर्किने क्रम जारी छ ।
कतिपय केही महिनाको लागि रोजगारीमा गएकाहरु त कतिपय वर्षभरी नै काम गर्न गएकाहरुको घुइँचो गौरीफन्टा र गड्डाचौकीको नाकामा देख्न सकिन्छ ।
गौरीफन्टा नाकाबाट मात्र अहिले दैनिक ७/८ सय संख्याको हारहारिमा सीमामा रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्ण बोगटीे बताउँछन् ।
यसरी परिवारको खर्च जोहो गर्न सुदुरपश्चिम प्रदेशबाट हजारौँको संख्यामा कामदारहरु कामका लागि भारत रहेका छन् ।
कतिपय २/३ महिनाको लागि भारत पस्छन् त कोही खेतीपाती लगाउने र चाडपर्वको बेला बाहेक अरु समय उतै मजदुरी गर्छन् ।
घर फर्किने क्रममा वर्षौँदेखि नेपालीहरुले भारतीयहरुको ज्यादती खेप्दै आएका छन् भने कतिपय नेपाल भित्रिएपछि पनि ठगिएका छन् ।
यसपटक गौरीफण्टा नाकामा विगतको भन्दा केही सहज भए पनि अनाहकमा रकम असुल्ने कार्य अझै पूर्ण रुपमा नरोकिएको यात्रुहरुको गुनासो देखिन्छ ।
सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी भने भारतीय अधिकारीहरुले रकम लिएको गुनासो यस वर्ष अहिलेसम्म नआएका बताउँछन् ।
यो वर्ष विगतका तुलनामा सुधारोन्मुख भएपनि सबैलाई निर्धक्कसँग वारपार गर्ने अवस्था भने अझै बन्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्