काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपअन्तर्गत एसिया सव–रिजनको छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियाको क्वाललम्पुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले ४५ बल बाँकी छँदै भेट्टाएको हो ।
नेपालका कप्तान पारस खड्काले ५२ रन बनाए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रन बनाए ।
ओपनर अनिलकुमार शाहलाई १ र विनोद भण्डारीलाई १२ रनमा गुमाएको नेपालको ब्याटिङ कप्तान र उपकप्तानले सम्हालेका थिए ।
यसअघि टस जितेर पहिले व्यटिङ गरेको मलेसियाले १९ दशलमव ३ ओभरमा अलआउट हुँदै १०० रन जोडेको थियो ।
मलेसियाका लागि ओपनिङ ब्याट्सम्यानहरु साफिक सरिफले ४९ र सयद ऐजाजले १३ रन जोड्नुबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए ।
४ ओभर बलिङ गरेका लामिछानेले २० रन दिँदै ५ विकेट लिएका हुन् । सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो
ट्वेन्टी ट्वेन्टी प्रतिस्पर्धामा नेपाल र मलेसियाबीच पाँच वर्षपछि प्रतिस्पर्धा भएको हो ।
सन् २०१३ मा काठमाडौंको कीर्तिपुरमा भएको एसीसी ट्वान्टी–२० कपमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।
प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्