काठमाडौं, असोज १८ । बेलायतले रुसी सैन्य गुप्तचर निकाय ‘जीआरयू’ले आफ्नो मुलुकमा ठूलो साइबर आक्रमण गरेको आरोप लगाएको छ ।
बेलायतको ‘नेसनल साइबर सेक्युरिटी सेन्टर’ले रुस र युक्रेनमा रहेका बेलायती फर्म, अमेरिकाको डेमोक्र्याटिक पार्टी र बेलायतका साना टेलिभिजन नेटवर्क आक्रमणको निशानामा रहेको जनाएको छ ।
‘वर्ल्ड एन्टी डोपिङ एजेन्सी’का कम्प्युटरहरु पनि आक्रमणको निशानामा परेका छन् ।
‘फ्यान्सी बेयर’ नाम गरेको समूहले लागुऔषध प्रयोगविरोधी निकाय वर्ल्ड एन्टी डोपिङ एजेन्सीको कम्प्युटर प्रणाली ‘ह्याक’ गरेर खेलाडीहरूका गोप्य दस्तावेज चुहाएको बेलायती अधिकारीहरुले जनाएका छन् ।
यो समूहले इन्टरनेटमार्फत् ‘फिसिङ’ गरेर पासवर्डहरू चोरी गरेको आरोप छ ।
गत वर्ष युक्रेनको कियभको मेट्रो प्रणाली र ओडेसाको विमानस्थलमा साइबर आक्रमण गरेको बताइएको छ ।
सन् २०१६ मा अमेरिकी डेमोक्र्याटिक नेसनल कमिटीका सूचनाहरूसमेत चुहाइदिएको जनाइएको छ ।
बेलायतले रुसी सैन्य गुप्तचर निकायमाथि साइबर आक्रमणको आरोप लगाएको यो पहिलोपटक हो ।
यस वर्षको सुरुमा सोल्जबरीमा रुसी जासुस सेर्गेइ स्क्रिपाललाई स्नायु विष दिने कार्यमा पनि जीआरयूकै हात रहेको आरोप छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्