मनिष गुप्ता (इमेज)
कपिलवस्तु, असोज १७ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजश्व असुली गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ को साउन र भदौ महिनाको राजश्व संकलन लक्ष्य एक अर्ब २३ करोड ३२ लाख रुपैयाँ रहेपनि ५८ करोड ३७ लाख रकम असुली भएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा दुई महिनाको राजश्व असुली बढी नै देखिएपनि वार्षिक लक्ष्यको तुलनामा भने राजश्व असुली कम भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/०७५ मा ४ सय १३ करोड राजश्व असुलीको लक्ष्य रहेकामा १५२ प्रतिशत वृद्धि भइ ६ सय ३१ करोड राजश्व असुली भएको थियो ।
गत वर्ष संकलन भएको राजश्वमा थप ३३ प्रतिशतले वृद्धि गरी यस आर्थिक वर्षको लक्ष्य ८ सय ७ करोड रहेको छ ।
यो लक्ष्यअनुसार यस वर्षको सुरुआती असुली सन्तोषजनक नभएको खड्काले बताए ।
यो नाकाबाट बढीजसो कच्चापदार्थ क्लिंकरबाट धेरै राजश्व असुली हुँदै आएको छ ।
कृष्णनगर औद्योगिक करिडोर बनाउने भनेर सरकारले घोषणा गरिसकेको अवस्थामा अरु उद्योगहरु आए सजिलै लक्ष्य भेट्टाउन सकिने कार्यालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्