
बिराज रोस्यारा (इमेज)
कैलाली, असोज १७ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।
बुधबार कन्चनपुरबाट धनगढी आएको महिला अधिकारकर्मीको टोलीले हत्यारालाई पक्राउ गर्न र छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
महिला अधिकारकर्मीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
अधिकारकर्मी सावित्री सुवेदीले निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै देशभर आन्दोलन भइरहँदा पनि सरकारले नसुनेको बताइन् ।
अधिकारकर्मी हेलेन श्रेष्ठले हत्यारा पत्ता लगाउनुका साथै गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको जानकारी दिइन् ।
महिलामाथि बलात्कार र हत्याका घटना दिनहुँ बढ्दै जाँदा त्रासको वातावरण सिर्जना भएको उनले बताइन् ।
प्रहरीले निर्मला हत्या घटनाको प्रारम्भिक अनुसन्धानकाक्रममा प्रमाणहरु नस्ट गरेको उनको आरोप छ ।
अधिकारकर्मीको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले हत्यारा जतिसुकै बलियो भएपनि उम्कन नहुने बताए ।
अहिले प्रहरी केन्द्र सरकारकै मातहत रहेकाले दोषी पत्ता लगाउने विषयमा प्रदेशले केन्द्र सरकारलाई दबाब दिनेसँगै छानबिनमा निरन्तर समन्वय गरिरहेको उनले बताए ।
‘घटना भएदेखि नै हामी केन्द्र सरकारसँग यसबारे निरन्तर समन्वयमा छौं’–उनले भने ।
प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्र रहेर अनुसन्धानमा सहयोग गरिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्