लक्ष्मी लामा/प्रदीप तामाङ (इमेज)
काठमाडौं, असोज १७ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र द्वन्द्वकाक्रममा करिब १७ हजार मानिसको मृत्यु भयो । १३ सय मानिस अझै बेपत्ता छन् । ४ हजार ३०० भन्दा बढी अंगभंग भएका छन् ।
नेपाली समाजले भोगेको त्यो कहालीलाग्दो समयमा भएका घटनाहरुको स्मरणमा काठमाडौंमा फोटो तथा ‘आर्काइभ’ भिडियो प्रदर्शनमा राखिएको छ । यसले नेपालले भोगेको सशस्त्र द्वन्द्वलाई स्मरण गराएको छ ।
तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र द्वन्द्वकाक्रममा भएका घटना झल्काउने गरी काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनी गरिएको छ ।
सशस्त्र द्वन्द्वकाक्रममा अंगभंग भएका, बेपत्ता पारिएका र मारिएका मानिसकाबारेमा सचित्र तथा आर्काइभका माध्यमबाट देखाउन खोजिएको छ ।
मेमोरी ट्रुथ एन्ड जस्टिस नामक संस्थाले एक वर्ष लगाएर १२० परिवारमा अध्ययन गरी द्वन्द्वका पीडितहरुको आवाज समेटेर प्रदर्शनी गरेको हो । संस्थाले सातओटै प्रदेशका द्वन्द्वपीडितहरुका आवाज समेटेको छ ।
द्वन्द्वका समयमा भएका घटना छानबिन गरी पीडितलाई न्याय दिन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरिएको भएपनि ती संस्थाबाट पीडितको सुनुवाइ नभएको भन्दै सरकारलाई झक्झकाउन प्रदर्शनी गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक विकिल स्थापितले जानकारी दिए ।
प्रदर्शनीमा द्वन्द्वका घाउलाई मेट्दै पीडितलाई न्याय दिलाउन आवश्यक रहेको देखाउन खोजिएको छ ।
सशस्त्र द्वन्द्वकाक्रममा नेपाली समाजले भोगेको पीडालाई भावी पुस्तालाई देखाउन पनि यो प्रदर्शनी गरिएको स्थापितले बताए ।
प्रदर्शनीमा सातओटै प्रदेशका प्रतिनिधिमूलक कथा देखाउन खोजिएको छ । प्रदर्शनी आगामी शनिबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्