२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


अमेरिकी विदेशमन्त्री पोम्पेओ फेरि उत्तर कोरिया जाने


0
Shares

वासिङ्टन, असोज १७ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।

भ्रमणकाक्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन् ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नेछन् । त्यसपछि उनी जापान र दक्षिण कोरिया जानेछन् ।

विदेशमन्त्री पोम्पेओको उत्तर कोरियाको यो चौथो भ्रमण हुनेछ । मन्त्री पोम्पेओले यसअघि दुईपटक उत्तर कोरियाली नेता किमलाई भेटिसकेका छन् ।

संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्त्य गराउन दबाब दिँदै आएको छ ।

यसअघि पनि पोम्पेओले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेका थिए । तर, सो भ्रमणलाई सिंगापुर बैठकमा व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ उत्तर कोरियाले आवश्यक कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गरेका थिए ।

कमैमात्र विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किमले गत जुनमा सिंगापुरमा भएको पहिलो ऐतिहासिक शिखर बैठकमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

त्यसक्रममा कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने विषयमा द्वीपक्षीय सम्झौता भएको थियो । रासस/एएफपी