२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


टीकापुर घटनाको साक्षी बकपत्र सम्पन्न


0
Shares

बिराज रोस्यारा

कैलाली, असोज १७ । टीकापुर घटनाको साक्षी बकपत्रको कार्य सकिएको छ । तीन वर्ष अघि २०७२ साल भदौ ७ गते भएको टीकापुर घटना मुद्दाअन्तर्गत जिल्ला अदालत कैलालीमा वादी र प्रतिवादी पक्षका साक्षी बुझी बकपत्र गराउने कार्य सकिएको जनाइएको छ ।

वादीतर्फका वकिल अधिवक्ता गजेन्द्र केसीले साक्षी बकपत्रको कार्य सकिएको बताए । उनले साक्षी बकपत्र सकिएपछि मुद्दा पेसीमा जाने बताए ।

सक्कल मिसिल उच्च अदालत काठमाडौं पठाइएकोले पेसीको लागि केही दिन ढिला हुनसक्ने उनको भनाइ थियो ।

जिल्ला अदालत कैलालीले भदौ २४ गतेदेखि नियमित साक्षी बकपत्रको लागि उपस्थित गराइरहेको थियो । बकपत्रमा वादी पक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साक्षी अदालतमा उपस्थित भएका थिए ।

टीकापुर घटनाको मुद्दा प्रक्रियामा गइसकेकोले छिट्टै किनारा लाग्ने सम्भावना रहेको अधिवक्ता केसीले बताए ।

टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भदौ २४ गतेदेखि साक्षी बकपत्रको लागि उपस्थित गराइरहेको छ । घटनाको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । थरुहट थारूवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो ।