मनिष गुप्ता
कपिलवस्तु १७ । ७१ बर्षको उमेरमा नागरिकता पाएकी फुलमतीले अब बच्चाहरूको जन्मदर्ता तथा बृद्धा भत्ताका लागि फर्म भर्ने बताएकी छन् ।
नेपाली नागरिकता हात परेसँगै शिवराज नगरपालिका ५, नवडिहवा निवासी फुलमती थारुमा खुशीको सीमा छैन । पहिलो धोको पूरा भएको बताउँदै उनी भन्छिन्, ‘सबभन्दा पहिले ६ सन्तानको जन्म सिफारिस बनाउँछु, त्यसपछि नागरिकता बनाइदिन्छु, अनि सँगसँगै भत्ताको लागि पनि फाराम भर्छु ।’
उनको नागरिकता नबनेकै कारण ३ छोरा र ३ छोरी हालसम्म पनि नागरिकताविहीन छन् । नाति–नातिनाहरूको अहिलेसम्म जन्मदर्ता बनेको थिएन । उनको तीन छोरीको विवाह भई नाति–नातिनाहरू समेत छन् ।
जेठी छोरी ४५ वर्षकी भइन् तर आमाको नागरिकता नहुँदा अहिलेसम्म नागरिकताबाट बन्चित छिन् । जेठो छोरा भुर्रा ४० वर्षका भए । उनका दुई छोराछोरी छन् तर उनको पनि नागरिकता छैन भने साना बालबालिकाको जन्मदर्ता समेत बनेको छैन । कान्छो छोरा सुनिल २४ वर्षका भए ।
नागरिकता नबनेसम्म विवाह नै नगर्ने संकल्प गरेका सुनिल आमाको नागरिकता बनाउन आफैं दौडधुप गरे । सबै प्रमाण जुटाई बल्ल आमाको नागरिकता बनाउन सफल भएकोमा उनी निकै खुशी छन् ।
फुलमतीका पति छोटु थारु २० वर्षअघि बेपत्ता भए । उनको पनि नागरिकता थिएन । जसले गर्दा नागरिकता बनाउन फुलमतीलाई निकै संघर्ष गर्नुपर्यो । जेठाजु टिट्राको मृत्यु भएको वर्षौं भयो । जीवनमा अनेकौं चुनौतीको सामना गर्दै छोराछोरी हुर्काएकी फुलमती आफैं नागरिकताविहीन हुँदा छोराछोरी समेत हालसम्म गैर नागरिक बनेर बस्नुप¥यो । बल्ल नागरिकता पाएकी फुलमती आफ्नो पहिलो इच्छा नै छोराछोरीको नागरिकता बनाउनु रहेको बताउँछिन् ।
फुलमतीको नागरिकता बनाउन महिला अधिकारकर्मी कमला भुसाल र स्थानीय छिमेकी पार्वती कँडेलको महत्वपूर्ण भूमिका रहेको थियो । इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश अर्याल प्रमाण पूरा भए नागरिकता बनाइदिने हौसला प्रदान गरेका थिए ।
यसैबीच इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट चालु आर्थिक वर्ष २०७५ को दुई महिनामा ८४२ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । साउन र भदौ दुई महिनामा १०५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान कार्यालयले जनाएको छ ।
प्रशासनबाट साउन १ गतदेखि असोज ११ गतेसम्म प्रतिलिपि नागरिकता ९४७ वटा वितरण भएको शाखा अधिकृत अर्यालले बताए । यस्तै नाबालक परिचयपत्र ९ जनालाई दिएको उनको भनाई छ । यसैबीच भदौ १५ बाट शुरु भएको द्रुत राहदानी सेवाबाट हालसम्म १३ जना लाभान्वित भएको शाखा अधिकृत अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्