
-दीपक श्रेष्ठ र सुयेश मानन्धर(ईमेज):
काठमाडौं । दसैं, तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा नेपाल प्रहरीले पनि विशेष सुरक्षा योजना बनाउन थालेको छ ।
चाडपर्वका क्रममा हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले नयाँ सुरक्षा योजना बनाउन थालेको हो ।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका लागि प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरिसकेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौं, ललितपुर र भक्तपुरले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजनाहरु सार्वजनिक गरेका छन् ।
उपत्यकाबाट दसैं मनाउन धेरै मानिस बाहिर जाने भएकाले सिमित अवधिका लागि प्रहरीले छुट्टै सुरक्षा योजना बनाउने गर्दछ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंदेखि छठसम्मका लागि विशेष सुरक्षा योजना बनाएको छ ।
यस अवधिमा प्रहरीले सादा पोशाकका ७० सहित ३ हजार ५ सय ३५ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।
त्यसैगरी सीआरभी ४६, मोटरसाइल गस्ती ८२ र साइकल गस्ती ३० वटा परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।
यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरले पनि जिल्लाको सुरक्षाका लागि २४ सै घण्टा प्रहरी परिचालन गर्ने जनाएको छ ।
त्यसका लागि सादा पोसाकका २१ जनासहित १ हजार ९७ जना प्रहरी परिचालन हुनेछन् ।
१३ वटा मोबाइल गस्ती टोली, २१ वटा साइकल गस्ती, १६ वटा सीआरभी र ३३ वटा मोटर साइकल गस्ती गरिने ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनसान वा भिडभाडको ठाउँमा लुटपाटमा घटना हुन सक्ने भन्दै त्यस्ता ठाउँमा विशेष निगरानी बढाउने गरी योजना बनाइएको जानकारी दिए ।
यता भक्तपुर प्रहरीले चाडपर्वलाई लक्षित गर्दै सादा पोसाकका प्रहरीसहित ५ सय ८ जना परिचालन गर्ने जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले सबै ठाउँमा सुक्ष्म निगरानीका साथ प्रहरी परिचालन गरिने जानकारी दिए ।
दसैं, तिहारको अवधिभर सीमा नाका, शक्तिपीठ, सार्वजनिक सवारी साधन, नगरका चोक तथा गल्ली, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसल भएका स्थानमा सुरक्षाकर्मी बढी केन्द्रीत हुनेछन् । होटल, लज, रेष्टुराँ र पुलहाउससमेत प्रहरीको निगरानीमा रहने छन् ।
‘संवेदनशील स्थान तोकेर तालिम प्राप्त कुकुरको समेत परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्