१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


शिक्षकको दरबन्दी नहुँदा सर्लाहीका विद्यार्थीको पठनपाठनमा समस्या


0
Shares

-प्रकाश मैनाली/ ईमेज:

सर्लाही । आवश्यकता अनुसार शिक्षकको दरबन्दी नहुँदा सर्लाहीका विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

एकातिर एउटै कक्षामा सयौं विद्याथीलार्ई पढाउनुपर्ने बाध्यता छ भने शिक्षकको दरबन्दी नहुँदा कतिपय अभिभावकले मासिक रुपमै शुल्क तिरेर शिक्षक राख्नुपरेको गुनासो गरेका छन् ।

सर्लाहीमा शिक्षकको दरबन्दी कम भएको गुनासो आइरहेको छ । सरकारले १ जना शिक्षकले ४० जना विद्यार्थीलाई पढाउन उपयुक्त हुने मापदण्ड तोकेको छ ।

तर शिक्षक नहुँदा कतिपय कक्षामा १०० भन्दा बढी विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ ।

विद्यालयमा शिक्षकको आवश्यक दरबन्दी नहुँदा स्थानीयले जेनतेन स्रोत संकलन गरी शिक्षक राख्नुपर्ने बाध्यता रहेको नारायण माविका प्रधानाध्यापक राज बराल बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको पालामा दरबन्दी मिलान गरिएपनि त्यसपछि ध्यान नदिँदा विद्यार्थी र शिक्षकको अनुपातमा तालमेल देखिएको छैन ।

अनुपात मिलाउने हो भने सर्लाहीमा अहिले २ हजार भन्दा बढी शिक्षकको आवश्यकता छ ।

तर जिल्लाबाट सबै दरबन्दी मिलान गर्न नसकिने जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख चेत कुमार पोखरेलको भनाइ छ ।

यस वर्ष ठाउँठाउँमा चलाइएको विद्यार्थी भर्ना अभियानले जनजनमा साह्रै चर्चा पायो र प्रशंसा पनि भयो ।

तर भर्ना भएका  कतिपय विद्यार्थीले स्कुल नै छाडे त कतिपयले नियमित पढ्दैनन् ।

यद्यपि केही सुधार भने पक्कै भएको छ । निशुल्क शिक्षा सबैको मौलिक अधिकार हो ।

तर सर्लाहीमा भने शिक्षकको दरबन्दी नहुँदा आफूहरुले नै मासिक रुपमा शुल्क तिरेर शिक्षक राख्नुपरेको गुनासो अभिभावकको छ ।

पछिल्लो तथ्यांकअनुसार सर्लाहीमा मात्रै २५ हजार जति बालबालिका विद्यालय बाहिर छन् ।

साँच्चिकै सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य हो भने समयमै शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने आवश्यकता देखिन्छ ।