१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप राष्ट्रको पुँजी : राष्ट्रपति


0
Shares

काठमाडौं, असोज १५ । ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मूल नाराका साथ २८औं विश्व ज्येष्ठ नागरिक दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबुद्ध ज्येष्ठ नागरिकहरुसँग भेटघाट गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरुको ज्ञान, अनुभव र सीप राष्ट्रको पुँजी भएकाले राज्यले हरेक ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताइन् ।

ज्येष्ठ नागरिकको सहज तथा सम्मानजनक जीवनका लागि शिक्षा प्रणालीदेखि कानुनी व्यवस्थामा पनि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा समेटिएका धेरै विषयहरु कार्यान्वयन गर्ने अवस्था नरहेको बताए ।

राज्यले सामाजिक सुरक्षा विभाग खडा गरेर कर लिने व्यवस्था गरे मन्त्रालय र कानुन दुवै आवश्यक नपर्ने उनको धारणा थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सीमित साधन–स्रोतका कारण ज्येष्ठ नागरिकलाई चाहेजति सुविधा दिन नसकेको बताइन् ।

ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्न मन्त्रालयले हरेक स्थानीय तहलाई अनुदान दिँदै आइरहेको जानकारी पनि उनले दिइन् ।

कार्यक्रममा वरिष्ठ राजनीतिज्ञहरु, विभिन्न पेसामा रहेका ज्येष्ठ नागरिकहरु तथा ज्येष्ठ नागरिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।