काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिने भएको छ। यसले खेलका विवादित निर्णय पुनरावलोकन गर्न सहयोग पुग्नेछ।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट संघका अनुसार यसपटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ। विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ। तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अघिल्ला दुई संस्करणमा विजेता टोलीले एक करोड रुपैयाँ पाउँदै आएको थियो।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त गरेसँगै प्रतियोगिताले थप उचाइ हासिल गरेको छ।
एनपीएलका खेलहरू नोभेम्बर २१ सम्म सञ्चालन हुनेछन्। प्रतियोगितामा लिग चरणका २८ खेलसँगै प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन्।










प्रतिक्रिया दिनुहोस्