काठमाडौं, असोज १५ । सभामुख कृष्णबहादुर महराले सरकारलाई आलोचना होइन, सुझाव आवश्यक रहेको बताएका छन् ।
२८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारको आलोचनाभन्दा पनि सुझाव आवश्यक रहेको बताए ।
ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।
ज्येष्ठ नागरिकहरुको अनुभव र विचार राष्ट्र निर्माणका लागि आवश्यक रहेको भन्दै सभामुख महराले उनीहरुलाई राज्यले सम्मान दिनुपर्ने पनि बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान आवश्यक रहेकाले सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता जनाइन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुका लागि राज्यले प्रदान गरेको सहुलियत कार्यान्वयन नभएको गुनासो गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न संघ, संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्