१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


वाल मैत्री विद्यालय: शिक्षा सुधारको आधार


0
Shares

-प्रज्ञा तिमल्सीना/ईमेज:

काठमाडौ जिल्लाको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालय केही दिन अघि पुग्दा विद्यालयका प्रधानाध्यापक हेरम्वराज कँडेल कक्षा कोठामा व्यस्त थिए । उनी कक्षा १० का विद्यार्थीलाई विज्ञान विषय पढाउँदै थिए र  यसरी विद्यार्थीसँग दिन विताउन पाउँदा उनलाई निकै खुसी लाग्छ ।

२५ बर्ष देखि शिक्षण पेशामा लागेका कँडेल प्रधानाध्यापक भएको ३ बर्ष भएको छ । उनी शिक्षक बनेर आउँदा विश्व निकेतन राजधानीको निकै चर्चित विद्यालय थियो । यहाँको पठन पाठन पनि निकै स्तरीय थियो,जसका कारण  भर्ना हुन तछाड मछाड हुने गथ्र्यो ।

तर जब काठमाडौमा  निजी स्तरबाट विद्यालय खुल्न थाले विश्व निकेतनमा विद्यार्थीको संख्या पनि विस्तारै कम हुदै गयो । यसको मुख्य कारण पढाइ हुने माध्यम अंग्रेजी थियो । निजी विद्यालयमा अग्रेजी माध्यमबाट पठन पाठन हुन थाले पछि विद्यार्थी तथा अभिभावकको आकर्षण त्यसतर्फ बढ्न थाल्यो । अनि विश्वनिकेतनमा विद्यार्थी संख्या पनि घट्दै गएको प्रधानाध्यापक कँडेलले सुनाए ।

२०५३ साल देखि विद्यार्थी संख्या घट्दै गएपछि ओरालो लाग्न थालेको विश्व निकेतनको गुणस्तर खस्किदै गयो । यसरी विद्यालयको स्तर खस्कनुमा अंग्रेजी माध्यम मात्र होइन, पठनपाठन राम्रो नहुनु पनि मुख्य कारण थियो । २०५७ सालबाट भने कक्षा १ देखि ३ सम्म अंग्रेजीमा पठाउन सुरु गरिएको प्रअ हेरम्ब राज कँडेलले बताए  ।

२०६७ साल देखि त कक्षा १० सम्म नै अग्रेजी माध्यम लागू गरियो । यो सँगसँगै नियमित पठनपाठन,शिक्षण सिकाइ प्रक्रियमा सुधार, कक्षा खाली हुन नदिन सिकाइस्तर राम्रा भएका विद्यार्थीले कक्षा लिने र अरु विद्यार्थीलाई सहयोग गर्ने, कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई थप समय, गणित क्लब, विज्ञान क्लब, चित्रकला तथा निबन्ध प्रतियोगिता, शैक्षिक भ्रमण ,भौतिक तथा शैक्षिक पक्ष सुधारका लागि श्रोत खोज्ने जस्ता विद्यार्थी केन्द्रित पक्षलाई विशेष महत्व दिंदा गुमेको प्रतिष्ठा कायम गर्न आज विश्वनिकेतन सफल भएको छ । लगातार २ वर्षदेखि देशकै उत्कृष्ट विद्यालयका रुपमा आफूलाई उभ्याएको छ ।

१० रोपनीमा फैलिएको यो विद्यालयमा हाल २ हजार ७ सय जना विद्यार्थी छन् । पर्याप्त भौतिक र शिक्षक नहुँदा एउटै कक्षामा ६० जना विद्यार्थी पढ्नुपर्ने बाध्यता छ । तर पनि यहाँ पढाइलेखाइ राम्रो हुने भन्दै विद्यार्थी मख्ख छन् । कक्षा ८ का विद्यार्थी अभिशेक सञ्जेल शिक्षकहरुको पठाउने तरिका साह्रै मन पर्छ ।

कक्षामा बढी विषयबस्तुको वारे छलफल हुने भएका कारण अभिशेकलाई पठन निकै मन पर्ने समेत सुनाए ।विद्यार्थी सँग नै प्रश्न सोध्दै पढाउने बुझाउने र सिकाउने गरिन्छ । पाठ्यक्रम सगै विद्यार्थीको कुरा पनि विद्यार्थीको भावना बुझेर उनीहरुलाई पढाइमा कसरी प्रेरित गर्न सकिन्छ भनेर तालिम लिएर शिक्षकहरुले पठाउन थाले पछि विद्यार्थीको लगाव पढाइप्रति बढ्ने भइहाल्यो । यो कुरा उनीहरु नै बताउँछन् ।

भुकम्पका कारण क्षति पुगेका कतिपय कक्षा कोठाको व्यवस्थापन सुधार गर्नुपर्ने अवस्था भएपनि पनि विद्यालयले पढाइ राम्रो बनाउन कुनै कसर भने वाँकी राखेको छैन । विद्यालयमा खानेपानी,शौचालय को राम्रो व्यवस्था छ । अलि खड्किने कुरा चाहिं खेल्ने स्थानको भने अभाव छ । विद्यार्थीहरुले पनि खेलकुदका क्रियाकलापहरु निकै कम भएको गुनासो गरे ।

२००९ सालका परोपकार अनाथालय भनेर खोलिएको परोपकार आदर्श हाईस्कुल भने पछिल्लो समय निकै खस्किँदै गएको छ । कुनै समय यो विद्यालय पनि निकै नाम चलेको विद्यालय थियो । काठमाडौको राम्रो सामुदायिक विद्यालयको रुपमा चिनिएको यो विद्यालयमा हाल कक्षा १० सम्म ३ सय जना विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापक मोहन वहादुर नेपाली श्रेष्ठले नजिक नजिक धेरै सामुदायिक र निजी विद्यालयहरु खोलिएका कारण विद्यार्थी सख्या विस्तारै घटेको बताए ।

५ रोपनी जमिनमा फैलिएको विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण नै सुधार हुन नसकेको प्रधानध्यापक श्रेष्ठको भनाइ छ । विद्यालयको व्यवस्थापन पक्ष पनि निकै कमजोर देखिन्छ । यहाँ अङ्ग्रेजी , गणित र विज्ञान विषय अङ्ग्रेजी माध्याम वाट पठन पाठन हुने गरेको छ । विद्यार्थीको सिकाइस्तर कमजोर पाइन्छ ।

अरुको घरमा काम गर्न बसेका विद्यार्थी धेरै भएका कारण गुणस्तर खस्किएको शिक्षक राजेन्द्र पाण्डेले बताए । अङग्रेजी भाषामा पढाउन नसकेका कारण पनि विद्यार्थीको सिकाइ क्षमता खस्किएको कतियप शिक्षक आफै स्वीकार गर्छन् ।

पुराना शिक्षक भएका कारणले पनि अहिलेको नँया तरिका अनुसार पठाउन नसकिएको केही शिक्षकको भनाइ छ ।  कक्षा ४ मा पढ्ने सर्लाही जिल्ला  घर भएकी निशा कुमारी साहले कुनै विषय  अङ्ग्रेजी र  कुनै नेपालीमा पढाइने हुँदा शिक्षकले भनेको नै नबुझने बताइन् ।

विद्यार्थीहरु विद्यालयमा पढाइ राम्रो नभएको दुखेसो गर्छन् । शिक्षकले न त राम्रो सँग नेपाली मा नै पढाउँछन् न त अङ्ग्रेजीमा नै, त्यसले गर्दा आफुलाई समस्या भएको कक्षा १० का छात्र सुमित राईले गुनासो गरे । विद्यालयमा खानेपानी र शौचालय को समेत राम्रो व्यवस्थापन छैन् । विद्यार्थीलाई खेलाउने र अतिरिक्त खेलकुदको समेत व्यवस्था नभएको विद्यार्थीहरुले गुनासो गर्छन् ।

खस्किदै गएको विद्यालय सुधार गर्न प्रधानाध्यापक तथा शिक्षकले कुनै पहल नै गरेका छैनन् । ग्रेडिङ् प्रणालीमा एसईई परीक्षाको नतिजा आउने भएकाले कोही पनि विद्यार्थी फेल भने नभएको देखिएको छ । तर विद्यार्थीको विषयगत ग्रेडिङ् हेर्ने हो भने सिकाई स्तर निकै नाजुक नै देखिएको छ ।

यस्तै काठमाडौको रानीवारी स्थित रानीदेवी आधारभूत विद्यालयको अवस्था पनि उस्तै देखिन्छ । कक्षा ८ सम्म मात्र पठन पाठन हुने विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी माध्यम वाट पढाइ हुन्छ । डेढ रोपनीमा रहेको यो विद्यालयमा आधाभन्दा बढी अरुको घरमा काम गर्ने वालवालिका पढन आउँछन् ।

हाल यहाँ ३ सय १५ जना  विद्यार्थी छन् । भवन अपुग भएका कारण समस्या भएको प्रध्यापक राम जी गौतमले गुनासो गरे । ३० बर्ष देखि विद्यालयको प्रधानाध्यापक रहेका गौतम ५५ प्रतिशत विद्यार्थी अरुको घरमा काम गर्ने वालवालिका रहेकाले गर्दा पनि नजिता सुधार्न नसकिएको बताउँछन् ।

उनका अनुसार यस्ता वालवालिका समयमा विद्यालय नआउने कारण उनीहरुको सिकाइस्तर र विद्यालयको नतिजामा समेत असर परेको छ । कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाउन सुरु गरे पनि शिक्षकले नै पढाउन नसकेको गौतमले स्वीकारे ।

प्रधानअध्यापक गौतम भन्छन,‘हाल राम्रो सँग पठन पाठन गराउन सकुन भनेर शिक्षकलाई अग्रेजी भाषा सिकाउन थालिएको छ । शैक्षिक सुधारका लागि यो विद्यालयमा खासै कुनै प्रयास भएको पाइँदैन । विद्यालयमा न त विद्यार्थी खेल्ने , रमाउने ठाँउ नै छ , न त विद्यालयले खेलकुदको कुनै कार्यक्रम नै गर्ने गरेको छ ।

कुनै समय ख्याति कमाएका र गुमाउँदै गएका समेत गरी काठमाण्डौका यी तीन सामुदायिक विद्यालयको स्थलगत अवलोकनका आधारमा बालमैत्री विद्यालय: शिक्षा सुधारको आधार हो भन्न सकिन्छ ।

बालबालिकालाई विद्यालय ल्याउनुमात्र ठूलो कुरा होइन, आएकालाई तिनको सामाजिक आर्थिक परिवेश हेरेर उनीहरुको गति र क्षमताअनुसार  सिक्ने वातावरण बनाएर नै उनीहरुलाई टिकाउन र सिकाउन सकिन्छ ।

अंग्रेजी माध्यम लागू गरी हात बाँधेर अनि आर्थिक अवस्था कमजोर भएका अभिभावक र विद्यार्थीमाथि सबै दोष थोपरेर अघि बढेको भए विश्व निकेतन स्कूल देशकै उत्कृष्ट विद्यालय कदापि बन्ने थिएन ।

आफ्नो मूल्यांकन आफैँ गर्दै सिकाउने र सिक्ने वातावरणलाई सबभन्दा बढी प्राथमिकता दिएर काम गरेकोले नै विश्वनिकेतनले आफूलाई अब्बल बनाएको हो । ओरालो लाग्दै गएका अरु विद्यालयले पनि बालकेन्द्रित पक्षलाई सर्वोपरी ठान्ने र यसैअनुसार काम गर्ने हो भने उकालो लाग्न निश्चय नै संभव छ ।