Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको आक्रमण तिब्रः घर खरानी भएपछि प्यालेस्टिनीहरूको उठीबास


0
Shares

काठमाडौं । उत्तरी वेस्ट बैंकको जालुद गाउँमा यहुदी बस्ती विस्तारक (सेटलर) हरूको आक्रमणका कारण स्थानीय प्यालेस्टिनी नागरिकहरूको उठीवास भएको छ ।

वर्षौंको मेहनत र लाखौँको लागतमा निर्मित आवासगृहहरूमा आगजनी गरिएपछि धेरै परिवार आफ्नै थाँतथलोबाट विस्थापित भई मानसिक तथा आर्थिक संकटमा धकेलिएका छन् । वेस्ट बैंकस्थित जालुद गाउँका ६० वर्षीय महमूद तुबासी हरेक दिन आफ्नो बुबाको घरको छतमा उभिएर टाढा रहेको खरानी बनेको आफ्नै घरलाई हेर्न बाध्य छन् ।

जेरुसेलमको सेतो ढुंगाले तीन वर्ष लगाएर बनाइएका उनका दुई घर हालै आगजनीबाट ध्वस्त भएका हुन् । उक्त आक्रमणले उनको भौतिक संरचना मात्र होइन, परिवारको मानसिक शान्तिसमेत खोसेको छ ।

तुबासीकाअनुसार गत जुलाईमा यहुदी बस्ती विस्तारकहरूले उनको घर कब्जा गरेका थिए । त्यसपछि विस्थापित बनेका उनी सेप्टेम्बर २९ मा इजरायली सेनाको सुरक्षासहित आफ्नो घर फर्किएका थिए । तर सेना त्यहाँबाट फर्किन नपाउँदै बस्ती विस्तारकहरूले टायर बालेर उनको घरमा आगो लगाइदिए ।

सो क्रममा सेनाले तुबासी र उनकी पत्नीलाई जीपमा राखेर करिब १०० मिटर पर पुर्‍याएको थियो । करिव ५ लाख नयाँ शेकेल ९झन्डै १ लाख ६३ हजार अमेरिकी डलर० खर्चिएर बनाइएको घर क्षणभरमै जलेर कंकालमा परिणत भएको थियो ।

आवास गुमेसँगै तुबासीको २६ डुनम ९करिव २।६ हेक्टर० जमिन र जीविकोपार्जनको मुख्य आधार पनि खोसिएको छ । उनकाअनुसार जीविकोपार्जनको स्रोत रहेका ३५० मध्ये १०० भन्दा बढी जैतुनका रूख, अन्जिर तथा अंगुरका बोटहरू बस्ती विस्तारकहरूले काटेर नष्ट गरिदिएका छन् ।

दण्डहीनताका कारण बस्ती विस्तारकहरूको मनोबल बढेको र कुनै पनि निकायले कारबाही नगर्दा उनीहरूको अत्याचार बढ्दै गएको स्थानीयको गुनासो छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार पछिल्लो समय वेस्ट बैंकमा बस्ती विस्तारकसम्बन्धी हिंसामा उल्लेखनीय वृद्धि भएको छ ।

हिंसा, घर भत्काउने र निष्कासनका कारण करिव ३ हजार ८ सय प्यालेस्टिनी विस्थापित भइसकेका छन् । यस वर्ष १ हजार ४३० भन्दा बढी आक्रमणका घटना दर्ता भएका छन्, जसले करिव २६० समुदायलाई प्रत्यक्ष असर पुर्‍याएको छ ।

प्यालेस्टिनी आधिकारिक संस्थाकाअनुसार नाब्लुस प्रान्त वेस्ट बैंकमै सबैभन्दा बढी आक्रमणको शिकार भएको क्षेत्र बनेको छ ।