आन्तरिक पर्यटकको रोजाइमा बागलुङको ‘गाईघाट झरना’ • Image Khabar Image Khabar


आन्तरिक पर्यटकको रोजाइमा बागलुङको ‘गाईघाट झरना’


Imagekhabar
२८ जेष्ठ २०७५, सोमबार ०२:११

आन्तरिक पर्यटकको रोजाइमा बागलुङको ‘गाईघाट झरना’

प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरुपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट अहिले झरनाले नयाँ स्वरुप पाएको छ ।

झरना छेउ पौडी पोखरी, वनभोजस्थल, विश्रामस्थल, पदमार्गलगायतका संरचना निर्माण गरिएको छ । महत्व भएर पनि पछाडि परेको झरनामा पूर्वाधार बनेपछि वर्षायाम बाहेकका सबै महिनामा आगन्तुकको भीड लाग्ने गरेको छ ।

पर्यटकीय याममा दैनिक सयौं आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गरेको केन्द्रका उपाध्यक्ष राज थापाले बताए । पूर्वाधार निर्माणकै क्रममा झरनाको भित्रपट्टि फेला परेको गुफाले पनि पर्यटकीय आकर्षण थपेको छ ।

४० जनाजति अट्ने गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गाईघाटदेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजनामा केन्द्र छ ।

‘५० मिटर अग्लो झरनामा क्यानोनिङ सन्चालन गर्ने योजना छ’, सचिव थापाले भने । गाईघाट झरनासँगै भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाइएको उनले बताए । गर्मी याममा झरना अवलोकनसँगै प्राकृतिक तलाउमा स्नान र पौडीका लागिसमेत पर्यटक आउने गरेका छन् । पछिल्लो समय झरना क्षेत्र वनभोज जानेको रोजाइमा पर्ने गरेको छ ।

आन्तरिक पर्यटकको रोजाइमा बागलुङको ‘गाईघाट झरना’

बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकन भ्रमणका लागि जाने गरेका छन् । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । गाईघाट झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारका रुपमा समेत लिने गरिन्छ ।

सदरमुकामदेखि १० कोष पश्चिममा अवस्थित झरनालाई पर्यटकीय गन्तव्य बनाइने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेटमा प्राथमिकता दिएको उल्लेख गरे । पर्यटनसँग सम्बन्धित संस्थासँग मिलेर योजनाबद्ध रुपमा काम गर्ने उनी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्