४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


खप्तड घुम्नजाने नवविवाहित जोडीलाई तीन हजार रुपैयाँ


0
Shares

अछाम, जेठ १५ । साँफेबगर नगरपालिकाले नवविवाहित जोडीलाई खप्तड पर्यटकीय क्षेत्रको अवलोकनमा प्रोत्साहन गर्ने भएको छ ।

खप्तड पर्यटन क्षेत्रको विकासका लागि नयाँ खालका कार्यक्रमहरु सञ्चालन गर्दै आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न थालिएको हो ।

नगर कार्यपालिकाको तेह्रौँ बैठकले खप्तड विकासका लागि नवविवाहित जोडीलाई एक पटक खप्तडको अवलोकन गराउने उद्देश्यले नयाँ कार्यक्रम ल्याउने निर्णय गरेको हो । बैठकले नवविवाहित जोडीले नगरमा खप्तड घुम्न जाने निवेदन दिएमा उनीहरुलाई खप्तड घुमाउन नगरबाट तीन हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

विवाहित जोडीमध्ये एकजना अछामी नागरिक हुनु पर्ने तथा आफ्नो विवाह दर्ता प्रमाणपत्रसहित नगरपालिका निवेदन दिनुपर्नेछ ।

अछाममा कार्यरत कुनै सरकारी तथा गैर सरकारी संघसंस्थामा काम गर्ने नवविवाहित जोडी खप्तड जान चाहेमा कार्यरत कार्यालयको सिफारिस पत्र र निवेदन नगरपालिकामा पेश गर्नुपर्ने छ ।

नगरपालिकाले खप्तड पर्यटकीय क्षेत्रमा जान चाहने नवजोडीलाई चाहिने आवश्यक पथ प्रदर्शकको व्यवस्था पनि गर्नेछ । तर खप्तड जान चाहने जोडीले विवाह गरेको तीन महिना अर्थात नब्बे दिनभित्र नगरपालिकामा निवेदन दिनुपर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताए ।

उनले आफूले निकट भविष्यमै युवा बेरोजगारीको समस्या समाधान गर्न र खप्तड लगायतका पर्यटकीय क्षेत्रको विकासका गर्न पथप्रदर्शकको तालिम सञ्चालन गर्ने पनि बताए ।

पथ प्रदर्शकका लागि नगरका बीस जना युवालाई खप्तड पर्यटकीय क्षेत्रमै तालिम दिई उनीहरुलाई खप्तडका सबै ठाउँको जानकारी लिन लगाउने र तालिमपछि गाईडको रुपमा राखिने नगरप्रमुख कँवरले बताए । यो बापत पथ प्रदर्शकलाई नगरपालिकाले पाँचहजार रुपैयाँ प्रदान गर्नेछ ।

उनले खप्तडको विकासका लागि नगरपालिकाका पातलकोट, बुढाकोट, सिद्धेश्वर, घुघुरकोट, देविस्थान, खप्तड र बाब्ला खप्तड पर्यटकीय क्षेत्रसँग जोडिएकाले गाईडको तालिमका लागि त्यहाँका युवालाई विशेष प्राथमिकता दिने बताए ।