Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


दसैँका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा भित्रिन थाले, डोल्पाबाट मात्रै हजार बढी


0
Shares

मुस्ताङ । दसैँ नजिकिएसँगै मुस्ताङको जोमसोममा भेडाच्याङ्ग्राको कारोबार बढ्न थालेको छ। दसैँको बजारलाई लक्षित गर्दै माथिल्लो डोल्पाबाट व्यापारीहरूले एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याइसकेका छन् भने उपल्लो मुस्ताङबाट पनि च्याङ्ग्रा आउने क्रम जारी छ।

डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट खरिद गरिएका च्याङ्ग्रा जोमसोमसम्म ल्याउन व्यापारीलाई एक साताभन्दा बढी समय लागेको थियो। बाटोमा भारी वर्षा, हिमपात, हिउँ जमेको पदमार्ग र अत्यधिक चिसोका कारण यात्रा कठिन र जोखिमपूर्ण बनेको व्यापारीहरूले बताएका छन्।

नेपाल–चीन सीमा क्षेत्रमा लाग्दै आएको चोङ्ग्रा मेला यस वर्ष सञ्चालनमा नआएपछि डोल्पामै पुगेर च्याङ्ग्रा खरिद गर्नुपरेको उनीहरूको भनाइ छ। यस वर्ष डोल्पाबाट आठ हजारभन्दा बढी च्याङ्ग्रा मुस्ताङ ल्याउने तयारी गरिएको छ। गत वर्ष भने करिब ११ हजार च्याङ्ग्रा मुस्ताङ ल्याइएको थियो।

गत वर्ष कारोबारमा केही घाटा व्यहोरेका व्यापारीहरूले यसपटक भने ठूलो रकम लगानी गरेर च्याङ्ग्रा ल्याइरहेका छन्। तर बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भए च्याङ्ग्रा पोखरासम्म पुर्‍याउन समस्या हुने भन्दै उनीहरूले दसैँअघि नै सडक यातायात सहज बनाउन सरकारसँग माग गरेका छन्।