Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो


0
Shares


काठमाडाैं ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप तीन जनाको शव भेटिएको छ ।

तीन जनाको शव भेटिएसँगै यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलु खर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो ।

घटनास्थलमा अन्तरराष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सोही टोलीले हिउँ पन्छाएर उनीहरुको शव निकालेको उहाँले बताउनुभयो ।

यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।