काठमाडाैं ।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा असोज ८ देखि ११ गतेको भीषण बाढीले बागलुङमा मात्र १३ जनाको ज्यान गएको छ भने भौतिक संरचना ध्वस्त हुँदा हजारौं नागरिक आधारभूत सेवाबाट वञ्चित भएका छन् ।
संसदको शुन्य समयमा बोल्दै सांसद शर्माले प्राकृतिक विपत्तिबाट बागलुङ र म्याग्दीका विभिन्न पालिका नराम्ररी प्रभावित भएको बताउनुभयो । विशेषगरी ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोट क्षेत्रमा बाढी र हावाहुरीले भौतिक संरचना पूर्ण रूपमा क्षति पु¥याएको छ । उहाँकाअनुसार सयौं घर, गोठ र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।
विपत्तिपछि पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत, खानेपानी र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् । सञ्चार सम्पर्क टुटेका कारण धेरै स्थान अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको सांसद शर्माले जानकारी गराउनु भयो । स्थानीयस्तरमा दैनिक उपभोग्य वस्तुको अभाव चुलिएकाले जनजीवन कष्टकर बनेको छ ।
सांसद शर्माले भन्नुभयो, ‘मध्यपहाडी लोकमार्गको लाइफलाइन मानिने मालढुंगाको पुलसमेत क्षतिग्रस्त छ। यातायात सञ्चालन गर्न नसक्दा राहत सामग्री पु¥याउन सकस भइरहेको छ ।’ उहाँले सरकारले भोटेकोशी बाढीको समयमा उपलब्ध गराएको जस्तै राहत प्याकेज बागलुङका लागि पनि घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । तत्काल सडक र सञ्चार पुनस्र्थापना गर्दै प्रभावितलाई राहत उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्