Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


एसियन गेम्स क्रिकेटः वर्षाका कारण खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो


0
Shares

काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।

आज बिहान पौने ६ बजेदेखि सुरु हुनुपर्ने खेल लगातारको वर्षाका कारण सञ्चालन हुन नसकेपछि रद्द गरिएको हो। खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपालको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो। जापानसँगको खेल भने वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको थियो।

यसअघि सन् २०१०, २०१४ र २०२२ को एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो। यसपटक पनि नेपालले सोही चरण पार गर्न सकेन।

यसअघि हङकङ–पाकिस्तान तथा भारत–अफगानिस्तानबीचका क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएका थिए। ती खेलमा वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका छन्।

अन्तिम क्वाटरफाइनलमा आजै मलेसिया र बंगलादेशबीच खेल हुने तालिका छ। उक्त खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना रहेको छ।