लक्ष्मण सापकोटा , पर्वत । निरन्तरको वर्षासँगै कालीगण्डकी नदीको बहाव अत्यधिक बढ्दा पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण वारीबेनी, फर्से र सेतीवेणी बजारका दर्जनौँ घर प्रभावित भएका छन् भने तीनवटा बस्तीका स्थानीय विस्थापित भएका छन्।
जलजला गाउँपालिका–८ फर्सेमा मात्रै कालीगण्डकीको बाढीले २० भन्दा बढी घर बगाएको छ। थप एक सयभन्दा बढी घरमा बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो। उहाँका अनुसार नदीको बहाव अझै बस्ती क्षेत्रमा पसिरहेकाले जोखिम कायमै छ।
बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म तथा गोठहरूमा समेत क्षति पुर्याएको छ। बस्ती नै जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। अधिकांश स्थानीय घर छाडेर सुरक्षित स्थानमा गइसकेका छन्।
यसैगरी, जलजला गाउँपालिका–३ वारीबेनी बजारका बासिन्दा पनि रातिदेखि नै घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन्। उनीहरूलाई बस्तीभन्दा माथि रहेको विद्यालयमा बस्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो।
यता, कालीगण्डकी र सेतीखोलाको बहाव बढेपछि दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ स्थित सेतीवेणी बजारसमेत डुबानमा परेको छ। बाढीले सातवटा घर बगाएको र केही घरमा क्षति पुगेको शालिग्राम प्रहरी चौकीले जनाएको छ। पर्वततर्फका करिब ४० र स्याङ्जातर्फका ५० भन्दा बढी घर डुबानमा परेका छन्।










प्रतिक्रिया दिनुहोस्