सविना अछामे, खोटाङ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियारको बलात्कारपछि हत्यामा संलग्नको आरोपमा पक्राउ परेका ३ जनाले सफाइ पाएका छन् ।
गत भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका उक्त गाउँपालिका–४ बतासेका २८ वर्षीय हेमन परियार, दिपक राई र ५ सप्तेश्वर छितापोरीका २५ वर्षीय दिपक श्रेष्ठले जिल्ला न्यायधिस फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते सफाइ पाएका हुन् ।
उनीहरू गत जेठ १२ गते पक्राउ परेका थिए । उनीहरू रेस्मिका हत्या प्रकरणमा दोषी नदेखिएपछि सफाइ पाएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामचन्द्र मण्डलले बताएका छन् । रेस्मिकाका परिवार तथा आफन्तले भने दोषीलाई सफाइ दिएको भन्दै अदालतको गेटमा नाराबाजी गरेका थिए । यस क्रममा अदालत प्रवेश गर्न प्रयास गर्दा ठेलाम्ठेल समेत भएको थियो ।
रेस्मिका हत्या घटनामा संलग्न आरोपमा १६ वर्षीय एक किशोर भने २०८२ असोज १ गते नै पक्राउ परेका थिए । एक्लैले उक्त घटना घटाउन नसक्ने भन्दै अन्य पनि संलग्न रहेको भन्दै उच्च अदालत ओखलढुङ्गामा चैत ११ गते आफन्तले जाहेरी दिएका थिए । त्यसै जाहेरीको आधारमा उच्च अदालत ओखलढुङ्गाका न्यायधिसद्वय राज्यलक्ष्मी बज्राचार्य र युवराज गौतमको बैशाख २८ गतेको इजलासले थप तीन जनालाई पक्राउ गरिएको थियो ।
स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमी बजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्