Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


सिंहदरबारको क्यान्टिन महँगो भयो : सांसद सुनार


286
Shares

काठमाडाैं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूको महँगी र अव्यवस्थित संरचनाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले न्युन तलबमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीका लागि सिंहदरबारभित्रको खाना महँगो भएको भन्दै यसलाई सस्तो र मर्यादित बनाउन माग गर्नुभएको हो ।

सांसद सुनारले सिंहदरबारभित्र जताततै खुलेका क्यान्टिन र त्यहाँबाट निस्कने गन्ध तथा फोहोर व्यवस्थापनबारे प्रश्न उठाउनु भयो । उहाँले सिंहदरबारलाई व्यवस्थित र सफा बनाउन ‘भेजिटेरियन’ (शाकाहारी) क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिंहदरबारभित्र फाइभ स्टार होटलको शैलीमा क्यान्टिन चलाउनु हुँदैन । यहाँका तल्लो तहका कर्मचारी र मर्यादापालकहरूका लागि ३०–३५ हजारको तलबमा दिनभरको चिया–खाजा खर्च धान्न कठिन छ ।’ राजदुत नियुक्तिको विषयमा उठेका प्रश्नहरूमा टिप्पणी गर्दै उहाँले मापदण्ड पालनामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विज्ञता र अनुभवको आधारमा नियुक्ति हुनुपर्छ, तर सरकारले बनाएको कार्यविधि मिच्न पाइँदैन । व्यक्ति कुन पृष्ठभूमिबाट आएको भन्दा पनि उसले जिम्मेवारी बहन गर्न सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण हो ।’ प्रहरीभित्रको भ्रष्टाचार र विशेषगरी म्यादी प्रहरीको जुत्ता खरिदमा भएको अनियमितताका बारेमा सोधिएको प्रश्नमा सांसद सुनारले गम्भीर अनुसन्धान भइरहेको बताउनुभयो ।

उहाँले १ लाख ३० हजारभन्दा बढी म्यादी प्रहरीको जुत्ता खरिदमा बद्मासी भएको प्रमाण संकलन भइरहेको दाबी गर्नुभयो ।

Skip This