काठमाडाैं । नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी मंगलबार ऋषि पञ्चमी पर्व मनाइरहेका छन्।
नारीहरुले मंगलबार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन रहेकाे हाे। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो ।
काठमाडाैंको टेकु र मूलपानी लगायत देशैभरका ऋषेश्वर मन्दिरमा पूजा-आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ । यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाे हाे।
अस्ति आइतबार दर खाई तीज पर्व शुरु भएकोमा साेमबार भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा, उपासना गरिएको छ। गएको भदौ १० गते रसुवाको भोटेकोशी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन ।
मंगलबार सप्तऋषिको पूजासँगै तीज पर्व समापन हुने भएकाे हाे।









प्रतिक्रिया दिनुहोस्