Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


हरितालिका तीज आजदेखि शुरू

व्रत बस्ने शक्तिका लागि दर खाने हिन्दु नारीहरूकाे तयारी

91
Shares

काठमाडौं । हिन्दु नारीहरुले हरितालिका (तीज) व्रतका लागि आइतबार दर खाने तयारी गरेका छन् ।

दर खाएसँगै आइतबारदेखि चार दिने तीज पर्व शुरु हुने भएकाे हाे। तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका यस दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताउनु भयाे। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर र मर्कालाई नारीले पोख्ने गरेका छन् ।

आइतबार राति दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष भदौ ३० गते मंगलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ ३० गते मंगलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि रहेकाे हाे।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी शास्त्रीय मत छ । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएकाे छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायत देशैभरका शिवालयमा लाखौं महिलाको घुइँचाे लाग्ने गर्दछ।