Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


रसुवा र धादिङसहितका बाढी प्रभावित जिल्लामा राहत वितरण तीव्र

२ दर्जन बढी सामाजिक संस्था सक्रिय

0
Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय गैसस संघले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङमा राहत तथा पुनर्स्थापनाका कार्यहरू तीव्र बनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सँगको आपत्कालीन छलफलपछि महासंघ अन्तर्गतका संस्थाहरु प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय भएका हुन् । अहिले महासंघभित्र आवद्ध ३० वटा संस्थाहरु विभिन्न मानवीय सहायतामा प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेको प्राधिकरणले जनाएको छ।

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरुको सञ्जाल (एआईएन) का अध्यक्ष सञ्जय कार्कीले बाढीपीडित समुदायका लागि खाद्यान्न, आश्रय (सेल्टर), कम्बल, हाइजिन किट र महिलाहरूका लागि आवश्यक डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री घटना भएको दोस्रो दिनदेखि नै वितरण भइरहेको बताउनुभयाे।

एआईएनको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागकी संयोजक डाक्टर सम्झना विष्टले प्रारम्भिक चरणको आपत्कालीन राहतपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श लगायत अन्य पुनर्स्थापनाका कामहरु शुरु गरिने बताउनुभउकाे छ। विभागिय मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय सरकारसँगको निरन्तरको छलफल र परामर्श पछि सरकारको प्राथमिकता भित्र रहेर दीर्घकाली आर्थिक पुननिर्माणका काम अघि बढाउने गरि अध्ययन भईरहेको उहाँकाे भनाइ थियाे।

सरकारले अल्पकालीन राहतका साथै दीर्घकालीन पुनर्स्थापनाका क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुलाई आह्वान गर्दै आएको छ । विपद् व्यवस्थापनका निम्ति गठन गरेका सबै उपसमितिहरूमा एआईएनलाई सदस्यको रुपमा राखिएको हाे । विगत ३० वर्षदेखि नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आएको एआईएनमा हाल १ सय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आवद्ध रहेका छन् ।