काठमाडाैं । नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।
संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पछिल्लो समय घटेका जघन्य र अमानवीय घटनाहरूले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताउनुभएको हो । अर्यालले ३ वर्षीया नाबालिकामाथि भएको बलात्कार जस्तो जघन्य अपराध र सिराहा लगायतका जिल्लामा घटेका क्रूर घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो।
निर्मला पन्त हत्याकाण्डको स्मरण गर्दै उपनेता अर्यालले उक्त घटनामा चरम राजनीतिकरण भएको र प्रमाणहरू नष्ट गरिएका कारण अपराधी अझै कानूनी दायरामा आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार र गृह प्रशासनले विगतमा गरेका प्रतिवद्धताहरू पूरा गर्न नसकेको भन्दै आलोचना समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दिनप्रतिदिन यस्ता संवेदनशील र अमानवीय घटनाहरू बढिरहेका छन् । राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन नसक्दा अपराधीहरूको मनोबल बढेको देखिन्छ । मानवता हराएका यस्ता व्यवहारहरूको गम्भीर अध्ययन र अनुसन्धान हुन जरुरी छ । अपराधीलाई कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना रोक्न प्रचलित कानूनको पुनरावलोकन आवश्यक छ । कानून संशोधन गर्ने वा नयाँ निर्माण गर्ने भन्ने विषयमा व्यापक छलफल र अध्ययन गरी कडा कानूनी मापदण्ड तय गरिनुपर्छ ।’
उहाँले पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन र अपराधीलाई शिघ्र पहिचान गरी कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभयो । सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखिएको दाबी गर्दै उहाँले गृह प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्