काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो पराजय व्यहोरेको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा शनिबार भएकाे खेलमा बंगलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई ९ विकेटले पराजित गरेकाे हाे। नेपालले प्रस्तुत गरेको १ सय रनको लक्ष्य बंगलादेशले १० दशमलव २ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जिशन आलमले अविजित ५२ रनको योगदान गरेका थिए । उनले २९ बलमा चार छक्का र तीन चौका प्रहार गरेका हुन् । अरिफुल इस्लाम ३४ रनमा अविजित रहेका थिए ।
नेपालका निम्ति एक मात्र विकेट साहब आलमले लिए । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । नेपालका निम्ति कुशल भुर्तेलले सर्वाधिक ४६ रनको योगदान गरेका छन् । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । विपीन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रन बनाएका हुन् ।
बंगलादेशका एमडी रुबेलले चार तथा रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले एक/एक विकेट लिएका थिए। नेपालले यसअघि आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग आठ विकेटको हार व्यहोरेको थियो । अब नेपालले सोमबार होबर्ट हुरिक्यास एकेडेमीको सामना गर्ने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्