काठमाडाैं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उद्धार अधिकारीका अनुसार भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड भएका थिए।
भूकम्प गएको करिब तीन घन्टापछि सुनामी चेतावनी हटाइएको थियो। माउमेरे सहर आसपासको क्षेत्रमा मात्रै २० जनाको शव भेटिएको, ६ जना घाइते भएको र दुई जना भग्ना वशेषमा फसेको उद्धार अधिकारीहरूले बताएका छन्।
उमेरे फ्लोरेस द्वीपमा रहेको सिका रेजेन्सीको मुख्य सहर हो। माउमेरे उद्धार कार्यालयका प्रमुख फथुर रहमानका अनुसार भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको नाजेकेओ क्षेत्रमा भने उद्धार टोली अझै पुग्न सकेका छैनन्।
भूकम्पका कारण त्यहाँ सञ्चार सेवा प्रभावित भएको छ। सडकमार्फत नाजेकेओ पुग्ने प्रयास पहिरोका कारण अवरुद्ध भएपछि अर्को टोली फेरीमार्फत त्यहाँ पुग्ने प्रयास गरिरहेको छ।
राष्ट्रिय विपद् व्यवस्थापन निकाय (बिएनपिबी) का अनुसार नाजेकेओमा करिब २ हजार मानिस सुरक्षित स्थानमा सारिएका छन्।त्यहाँ घर, गोदाम तथा सरकारी कार्यालयमा क्षति पुगेको छ। केही क्षेत्रमा सडकमा अत्यधिक जाम हुनुका साथै विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। पूर्वी नुसा तेंगारा प्रान्तका गभर्नर इमानुएल मेल्कियादेस लाका लेनाले पत्रकार सम्मेलनमा भूकम्पका कारण भवन तथा संरचना भत्किँदा सुतिरहेका कम्तीमा पाँच जनाको मृत्यु भएको बताएका छन्।
रोयटर्सले प्रमाणीकरण गरेको माउमेरेस्थित बन्दरगाहको भिडियोमा एउटा भवनको संरचना धुलो र भग्नावशेषमा परिणत हुँदै गर्दा मानिसहरू चिच्याउँदै सडकमा भागेको देखिन्छ। बिएनपिबीका अनुसार पूर्वी नुसा तेंगारा, पश्चिम नुसा तेंगारा र दक्षिण सुलावेसीका केही क्षेत्रमा शक्तिशाली कम्पन महसुस भएको थियो।
कतिपय स्थानमा करिब एक मिनेटसम्म जमिन हल्लिएको स्थानीयले बताएका छन्। पूर्वी नुसा तेंगारा प्रान्तको एन्डे जिल्लास्थित एउटा अस्पतालले पनि बिरामीहरूलाई भवनबाहिर सारिरहेको दृश्य स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन्।
कम्सास डटकमले कम्तीमा एउटा स्थानमा पहिरो गएको जनाएको छ। इन्डोनेसियाको भूभौतिकी निकाय बिएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान ४ बजेर ५८ मिनेटमा गएको थियो। भूकम्प १५ किलोमिटर गहिराइमा गएको र त्यसपछि लगातार परकम्प आएका थिए। बिएमकेजीका अनुसार यही क्षेत्रमा सन् १९९२ मा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसबाट त्यतिबेला ठूलो क्षति भएको थियो।









प्रतिक्रिया दिनुहोस्