Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सोलुखुम्बुमा जिल्लास्तरीय निबन्ध प्रतियोगितामा तामाङ र बास्तोला उत्कृष्ट


65
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भएको जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय (मावि) निबन्ध प्रतियोगितामा छात्रातर्फ थुलुङ दूधकुकोशी गाउँपालिका-९ को जनसेवा माध्यमिक विद्यालयका अणु तामाङ उत्कृष्ट भएकी छन्।

साथै छात्रतर्फ नेचासल्यान गाउँपालिका–२ को वीपी. संस्कृत माध्यमिक विद्यालयका दिप्सन वास्तोला उत्कृष्ट भएका हन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति सोलुखुम्बुको आयोजनामा ‘विज्ञान प्रविधिको विकाससँगै स्वरोजगार र देश विकासमा युवाको भूमिका’ शीर्षकमा आयोजित प्रतियोगितामा जिल्लाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रत्येक विद्यालयबाट एक छात्र र एक छात्रालाई सहभागी गराइएको प्रतियोगितामा वीरेन्द्र ज्योति माध्यमिक विद्यालय, सोताङकी मेलिना बस्नेत र काँकु माध्यमिक विद्यालयका पासाङ तामाङलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट एक जना छात्र र एक जना छात्रालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको रास्वपा सोलुखुम्बुका अध्यक्ष नारायण काजी कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न विद्यालयबाट २४ जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ। विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको रास्वपा सोलुखुम्बुले जनाएको हाे ।

उत्कृष्ट तथा सान्त्वना प्राप्त विद्यार्थीलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको छ ।