काठमाडाैं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानको मुख्य नेतृत्वकर्ता भएको बताउनुभएको छ ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद थेबेले युवाहरूलाई राज्यको नीति निर्माणको तहमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
युवाहरूलाई नीति निर्माणको तहमा पु¥याउने उद्देश्यले नै युवा मन्त्रालय, युवा परिषद् र युवा नीतिको तर्जुमा गरिएको उहाँले स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ जोड्दै सांसद थेबेले युवाको परिभाषा केवल उमेरमा मात्र सिमित हुन नहुने बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्र सङ्घले १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई युवा माने तापनि राजनीतिक र सामाजिक रूपमा युवाको अर्थ व्यापक रहेको बताउनु भयो । वि.सं. २०६२/६३ को जनआन्दोलनपछि युवाका सम्बन्धमा विकसित भएको भाष्यबारे चर्चा गर्दै थेबेले भन्नुभयो, ‘पहिले युवालाई भविष्यका कर्णधार भनिन्थ्यो, तर जनआन्दोलनपछि हामीले युवाहरू वर्तमानका कर्णधार हुन् भन्ने भाष्य निर्माण ग¥यौं । राजनीतिक रूपमा युवा हुनु भनेको उमेरसँगै जोश, जाँगर, भिजन र क्षमता हुनु हो । इमान्दारिता, नैतिकता, स्पष्ट दृष्टिकोण र सक्रियताका साथ राज्यलाई नेतृत्व दिन सक्ने व्यक्ति नै वास्तविक युवा हो ।’
उहाँले आत्मसम्मान र निष्ठाका साथ राज्यको नेतृत्व गर्न सक्ने गरी आफूलाई सक्षम बनाउनुपर्नेमा समेत युवाहरूको ध्यानाकर्षण गराउनु भयो ।









प्रतिक्रिया दिनुहोस्