Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सुरक्षा निकायको बन्दोबस्ती सामान खरिदमा भएको ढिलाइप्रति सांसद ठगुन्नाको आपत्ति, छानबिनका लागि समिति गठन गर्न माग


0
Shares

काठमाडाैं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा देखिएको चरम ढिलाइ र प्रक्रियागत अन्योलप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद ठगुन्नाले सुरक्षा निकायका जवानहरूले समयमै पोसाक र जुत्ता नपाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको हो ।

सांसद ठगुन्नाले खरिद प्रक्रियामा हुने कानूनी र प्राविधिक उल्झनका कारण तल्लो तहका सुरक्षाकर्मीहरू मर्कामा परेको उल्लेख गर्नुभयो ।

उहाँले खरिद प्रक्रियामा निश्चित समूहलाई लक्षित गरी स्पेसिफिकेसन तयार पारिएको भन्ने गुनासोप्रति ध्यानाकर्षण गराउँदै यसको सुक्ष्म अध्ययन हुनुपर्ने माग गर्नुभयो । यदि कुनै निश्चित स्वार्थका लागि नियम मिचिएको पाइएमा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘टेण्डर प्रक्रिया लामो समयदेखि मुद्दामै अल्झिएका कारण फिल्डमा खटिने जवानहरूले सामान पाउन सकेका छैनन् । एउटा सामान्य सुरक्षाकर्मीले लगाउने कपडा र जुत्ता खरिद गर्न वर्षौँ लाग्ने र त्यसको निराकरण नहुने हो भने राज्यका अन्य क्षेत्रको अवस्था के होला ? लामो समयसम्म विषयलाई गिजोल्नुभन्दा एउटा छानबिन समिति बनाएर स्पष्टीकरण खोज्नुपर्छ ।

गल्ती भएको छ भने कारबाहीको सिफारिस गर्ने र केवल आरोप मात्र हो भने त्यसलाई स्पष्ट पारेर निकास दिनु आवश्यक छ ।’
विगतका खाताहरूमा रकम स्थानान्तरण गरिएको विषयमा समेत छानबिन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।