Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग


0
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले भारतमा रहेका लाखौँ नेपाली नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी नभएको भन्दै आपत्ति जनाउनुभयो । सांसद मल्लले गत साउन १ गतेदेखि भारतको सिमलाबाट बेपत्ता भएका सल्यान दार्माका चक्र कार्कीको तत्काल खोजी र उद्धारका लागि सरकारसँग माग गर्नुभयो ।

हराएका नागरिकको खोजीमा सरकारी संयन्त्र तत्काल सक्रिय नहुनु दुःखद् भएको बताउँदै उहाँले भारतमा रहेका नेपालीका लागि २४ सै घण्टा सञ्चालन हुने गरी ‘आपत्कालीन सहायता संयन्त्र’ निर्माण गर्न प्रश्ताव गर्नुभयो । नेपाली श्रमिकहरूले भारतमा उचित पारिश्रमिक नपाउने, दुर्घटना हुँदा क्षतिपूर्ति र उपचारमा समस्या भोग्नुपर्ने तथा मृत्यु हुँदा शव स्वदेश ल्याउनसमेत कठिनाइ हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतमा रहेका नेपालीहरू नेपाल–भारत सम्बन्धका सेतु मात्र होइनन्, उनीहरूले देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पु¥याएका छन् । उनीहरूको सुरक्षा र अधिकारका लागि राज्यले कुटनीतिक सक्रियता बढाउनु आवश्यक छ ।’
सम्बोधनका क्रममा सांसद मल्लले दिल्लीमा मात्र सीमित कन्सुलर सेवालाई नेपालीहरूको बाक्लो उपस्थिति रहेका सिमला, बेङ्गलुरु र महाराष्ट्र जस्ता सहरहरूमा विस्तार गर्न माग गर्नुभयो ।

उहाँले भारतमा रहेका नेपालीहरूको स्वेच्छिक अभिलेखीकरण गरी वास्तविक तथ्याङ्क सार्वजनिक गर्न र सोही आधारमा सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिनुभयो ।