काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकहरूको श्रम शोषण र कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गर्नुभएको हो ।
ओलीले देशको आर्थिक वृद्धिको तथ्याङ्क प्रश्तुत गर्दा त्यसको जगमा रहेका श्रमिकहरूको अवस्थालाई बिर्सिन नहुनेमा जोड दिनुभयो । विशेषगरी कार्पेट, धागो र गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकहरूले दैनिक १२ घण्टा काम गर्दा समेत मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको र कार्यस्थलमा न्युनतम मानवीय सुविधाबाट समेत वञ्चित हुनुपरेको यथार्थ उहाँले सदनमा प्रश्तुत गर्नुभयो ।
उहाँले श्रम निरीक्षणलाई औपचारिकतामा मात्र सिमित नराखी नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको नाम विश्व बजारमा पु¥याउने श्रमिकहरू नै राज्यको श्रम निरीक्षणबाट ओझेलमा छन् । कार्यस्थलमा हुने शारीरिक तथा यौनजन्य दुव्र्यवहार र रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने श्रमिकका पक्षमा सरकार मौन रहनु दुःखद हो । सरकारी गोदाममा मल भएर मात्र हुँदैन, किसानको खेतमा समयमै मल पुग्नुपर्छ । कुन जिल्ला र पालिकामा कति मल पठाइयो, त्यसको तथ्याङ्क सरकारले सार्वजनिक गर्नुपर्छ ।’
सांसद ओलीले देशभर व्याप्त मलको अभावका विषयमा कृषि मन्त्रालयको आलोचना गर्नुभयो । कृषिमन्त्रीले सदनमा मलको अभाव नहुने आश्वासन दिएपनि व्यवहारमा किसानहरू छटपटाइरहेको उहाँले बताउनुभयो ।
सरकारी तथ्याङ्कले ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखाए पनि किसानको खेतसम्म पुग्न नसक्नुले वितरण प्रणालीमा ठुलो भ्रष्टाचार वा कमजोरी रहेको उहाँको तर्क छ ।









प्रतिक्रिया दिनुहोस्