Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


अश्लील भिडियो र मदिरासम्बन्धी आरोप पुष्टि भए सांसद पद त्याग्ने ज्ञानेन्द्र शाहीको घोषणा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अश्लील भिडियो तथा मदिरा सेवनसम्बन्धी भ्रामक प्रचार गरिएको भन्दै त्यसको सत्यता पुष्टि भए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको घोषणा गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले संसदमा रहेको स्वास्थ्य टोलीमार्फत आफ्नो सम्पूर्ण शारीरिक तथा मेडिकल परीक्षण गर्न चुनौती दिनुभएको हो ।

“मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्, जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र शरीरमा प्रयोग भएको भेटिए म राजीनामा दिन तयार छु,” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियो आफ्नो भन्दै प्रचार गरिएको दाबी गर्दै सांसद शाहीले आफूविरुद्ध भ्रामक सामग्री फैलाउनेहरूमाथि प्रहरीले कारबाही नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

उक्त भिडियो आफ्नो भएको प्रमाणित भए आफू राजनीतिक जीवनबाटै सन्यास लिन तयार रहेको घोषणा गर्दै उहाँले भ्रमपूर्ण प्रचार गर्नेहरूमाथि कडा कारबाही गर्न माग गर्नुभयो ।

कर्णालीका दलित तथा विपन्न नागरिकले समयमै उपचार नपाएर ज्यान गुमाउनुपरेको विषय संसदमा उठाएका कारण आफूविरुद्ध घेराबन्दी र चरित्र हत्याको प्रयास भइरहेको उहाँको दाबी छ ।

कर्णालीका जनताको समस्या र अधिकारका विषयमा आवाज उठाउँदा जस्तोसुकै षड्यन्त्र भए पनि आफू पछि नहट्ने सांसद शाहीले बताउनुभयो ।