Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह


0
Shares

काठमाडौं । आफ्नो कार्यशैलीलाई लिएर सदन र सडकबाट आलोचना बढ्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाटै जवाफ फर्काउनुभएको छ ।

हिजो मध्यराति सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुने जिकिर गर्नुभएको हो । सही समय आउनका लागि केही समय लाग्ने उल्लेख गर्नुभएका प्रधानमन्त्री शाहले ढिलाइ भएपनि गलत नहुने आश्वासन पनि दिनुभएको छ ।

कसैलाई स्पष्ट इङ्गित नगरेपनि प्रधानमन्त्री शाहले नआत्तिन आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति विपक्षी सांसद र आफ्नै दलका सांसदतर्फ केन्द्रित भएको बुझिएको छ । शाह नेतृत्वको सरकारको काम गर्ने ढंग ठीक नभएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपा का सांसदहरूले नै आलोचना गरेका थिए ।

रास्वपाका सांसद मनिष झाले वर्तमान सरकारको नियत गलत नभएपनि ढंग नपुगेको टीप्पणी गर्नुभएको थियो । झा बाहेकका रास्वपाकै अन्य सांसदहरुले पनि सरकारको कार्यशैलीप्रति संसद बैठकमा सांकेतिक विरोध गर्न थालेका छन् । विपक्षी सहित आफ्नै दलका सांसदहरु नै विपक्षमा उत्रन थालेपछि प्रधानमन्त्री शाहले लेख्नुभएको छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ , ‘यो पहिलोचोटि होइन’ ।