कठमाडौं । आगामी भदौको ७ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन रोक्न सरकारले निर्देशन दिएको छ ।
चिनियाँ राजदूतले केही समयअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँग छलफल गर्नुभएकाे हाे । तर त्यसमा राजदूतले आपत्ति भने नजनाएको परराष्ट्र स्रोतले जनाएकाे छ। सरकारले सुनसरी घटनालाई देखाउँदै अहिले तिब्बती अध्ययन सम्मेलन स्थगित गर्न निर्देशन दिएको पाइएको छ । चार वर्षदेखि कै तयारी गरिएको भए पनि अन्तिम समयमा सरकारले स्थगित गर्न निर्देशन दिएको हो । ३९ देशबाट तिब्बत मामिलाका जानकारलाई आमन्त्रण गरिएको थियो ।
अहिलेसम्म १५ देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको थियो । परराष्ट्र सचिव राईसँगको छलफलपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका अधिकारीलाई फोन गरेर स्थगित गर्न निर्देशन गर्नुभएकाे हाे।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार राजीव श्रेष्ठले सुनसरी घटनालाई देखाएर सरकारले यो कार्यक्रम रोक्न लगाएकाे बताउनुभयाे ।
रजिष्ट्रार श्रेष्ठले कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताउँदै १५ देशबाट प्रतिनिधि आउने निश्चित भएको बताउनुभएकाे छ । सरकारको निर्देशनपछि आफूहरु अहिले पनि छलफलमा रहेको बताउनुभयाे । परराष्ट्र मन्त्रालय स्रोतले भने चीनलाई देखाएर स्थगित गर्नु आवश्यक नरहेको जनाएकाे छ। चीनबाट नै एक सय भन्दा बढी प्राध्यापक आउने तयारी रहेकाे स्रोतले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्