Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर


195
Shares

काठमाडौँ  । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित ‘देश र कांग्रेस जोड्ने अभियानः एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै नेता महरले महाधिवेशनमा पार्टीका सबै पक्षको सहभागिता सुनिश्चित गर्न विशेष संयन्त्र आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले आगामी महाधिवेशनमा कसैलाई निष्कासन गरिएको वा कसैले पार्टी छाडेको जस्ता विवाद उत्पन्न हुन नदिई सबैलाई सहभागी गराउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा विशेष महाधिवेशनका लागि आवश्यक ४० प्रतिशत हस्ताक्षर संकलन भए पनि त्यसले मूर्तरूप लिन नसकेको उल्लेख गर्दै उहाँले निर्वाचन आयोग र अदालतका निर्णयपछि अब निर्धारित महाधिवेशनको तयारीमै केन्द्रित हुनुपर्ने बताउनुभयो ।

महाधिवेशनलाई निष्पक्ष बनाउन सदस्यता छनोट, निर्वाचन र अनुशासनजस्ता महत्वपूर्ण समितिमा पार्टीका सबै पक्षको न्यायोचित सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । ती समितिका निर्णय सर्वसम्मत रूपमा गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेता महरले पार्टी सभापतिको अध्यक्षतामा १५ सदस्यीय विशेष संयन्त्र गठन गर्न सकिने विकल्पसमेत प्रस्तुत गर्नुभएको छ । प्रस्तावित संयन्त्रमा सभापति पक्षको बहुमत रहने तथा निवर्तमान पदाधिकारीलाई समेत समेटेर महाधिवेशन केन्द्रित विशेष जिम्मेवारी दिन सकिने उहाँको धारणा छ ।

उहाँले पार्टी विभाजन वा निष्कासनजस्ता अवस्था दोहोरिन नदिई १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । पार्टी एकता कायम राख्ने प्रयास सफल भए त्यसमा सबैले साथ दिने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।

विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षर पुगे पनि कानुनी तथा प्रक्रियागत कारणले त्यसतर्फ अघि बढ्न नसकिएको उल्लेख गर्दै महरले अब निर्धारित महाधिवेशनलाई सहमति र सहकार्यका आधारमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

पार्टी एकता र मिलानका लागि भइरहेका प्रयासप्रति पूर्ण समर्थन रहेको जनाउँदै उहाँले विगत तीन महिनादेखि भइरहेका पहलहरूबारे आफू जानकार रहेको बताउनुभयो । आगामी केही महिनाभित्रै महाधिवेशन प्रक्रिया सुरु हुने भएकाले अनावश्यक आन्तरिक विवादमा नअल्झी पार्टीलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।