Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सुनकाेसीमा कार दुर्घटना अपडेट : बेपत्ता दुईजनाको पहिचान खुल्यो


1.9k
Shares

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको पहिचान खुलेको छ ।

अर्का एक जनाको भने पहिचान खुल्न सकेको छैन । सुनकोशी नदीमा बेपत्ता हुनेहरुमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का अन्दाजी ३९ वर्षीया दिल कुमार लामा र सिन्धुलीको गोलन्जोर गाउँपालिका १ का स्काभेटर चालक गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय श्रेष्ठले जानकारी दिनुभएको छ ।

डिएसपी श्रेष्ठका अनुसार सोमबार दिउँसो १२ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले सोही दिशा खुर्कोटबाट खोटाङ तर्फ जानेक्रममा सडकमा रोखि राखेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोट अन्तर्गत मध्य पहाडी लोकमार्गको निर्माण कार्यमा संलग्न कम्पनीको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कार सडकबाट करिब ५० फिट तल सुनकोसी नदीमा खसेको जनाईएको छ । बस चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागितामा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।