Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन यात्रु रहेकाे अनुमान


650
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले कारलाई ठक्कर दिँदा कार सुनकोसी नदीमा खसेको हो।

प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी लोकमार्गमा रोकिएको कारलाई बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको बसमा सवार यात्रुले बताएका छन्। कार दुर्घटनास्थलबाट करिब ५० मिटर तल सुनकोसी नदीमा डुबेको छ। कारमा एक जना निर्माण व्यवसायी, एक जना अपरेटरसहित तीन जना सवार रहेको अनुमान गरिएको भए पनि उनीहरूको आधिकारिक पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेका गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बरालका अनुसार कारमा सिन्धुपाल्चोक घर भई हाल मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न ठेकेदार दिलकुमार तामाङसहितका व्यक्ति सवार रहेका थिए।

हाल नेपाल प्रहरी, खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासी संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा खटिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।